पोखरा, १२ वैशाख । अन्नपूर्ण आधारशिविर पदमार्गको देउराली र हिङ्कुको बीचमा पर्ने खोलानेर गत माघ ३ गते हिमपहिरोमा पुरिएर बेपत्ता भएका मध्ये मेनबहादुर तामाङको लास भेटिएको छ ।
अन्नपूर्ण पदमार्गको हिङ्कु केभ र देउरालीको बीचमा हिउँ पहिरोमा परेर ज्यान गुमाउन पुगेका धादिङ घर भई पोखरा महानगरपालिका–१ सिम्पानी बस्ने तामाङको लास भेटेको हो । स्थानीयले १० दिन जति अगाडिदेखि मोदीखोलाको किनारमा झोलाजस्तो वस्तुदेखिएको भन्ने सूचनाको आधारमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रतिनिधि, प्रहरीचौकी घान्द्रुक तथा पर्यटक प्रहरी पोखराको टोलीले यही वैशाख १० घटनास्थलमा पुगेको हो । सोही समूहले वैशाख १० गते लास निकालेको स्थानीय देउराली ड्रिम लजका सञ्चालक कृष्णमान गुरुङले बताए ।
कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका लकडाउनका कारण यात्रा असहज हुनुका साथै मृतकका परिवार एकदमै विपन्न अवस्थामा रहेका कारण पनि त्यस लासलाई पोखरा ल्याउन सकेको छैन । यसका साथै प्रतिकुल मौसमका कारण पनि हेलिकप्टर समेत जान नसकेकोले ३ दिनसम्म लास पोखरा ल्याउन नसकिएको प्रहरीले जनाएको छ ।
आज शुक्रवार नेपाली सेनाको हेलिकप्टरमार्फत शवलाई पोखरा लैजाने कुरा सुनेको स्थानीय कृष्णमान गुरुङले मर्दीन्यूलाई बताए ।
यसअघि फागुन १६ गते सरोज परियारको शव भेटिएको थियो । उक्त हिमपहिरोमा ४ जना कोरियनसहित ७ जना हिमपहिरोमा परेर ज्यान गुमाएका थिए ।