पोखरा, १२ वैशाख । शनिवारबाट सुरु हुने मुस्लिम समुदायको रमजान पर्वको बेला मस्जिदमा भिडभाड नगरि घरभित्रै नमाज पढ्न मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपालका मुस्लिम समुदायलाई अपिल गरेका छन ।
शुक्रवार स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार ब्रिफिङ पछि मुस्लिम आयोगका अध्यक्ष अन्सारीले कोरोना भाइरस संक्रमण फैलिनसक्ने भन्दै सो अपिल गरेको हो ।
भारतबाट नेपाल आई उदयपुरको मस्जिदमा बसेको र त्यस मस्जिदसँग सम्बन्धित व्यक्तिहरुमा कोरोनाभाइरसको संक्रमणको यो साता फैलिएपछि घरभित्रै नमाज पढ्न आग्रह गरेको हो ।
यो साता लगातार संख्या बढेपछि देशका विभिन्न भागका मस्जिद तथा मद्रासाहरूमा सतर्कता बढाउन र आवश्यक ठाउँमा परीक्षण पनि गराउन आयोगले प्रशासन तथा स्वास्थ्य मन्त्रालयसँग मिलेर काम गरिरहेको अध्यक्ष अन्सारीले बताएका छन ।
रोगको कुनै जात र धर्म नहुने भन्दै उनले सरकारले लागु गराएको ’लकडाउन’ तथा सामाजिक दूरीका नियमहरू पर्वका बेला पनि पालना गर्न सबैलाई आग्रह गरेका छन । नेपालमा रमजान भोलि शनिवारबाट सुरु हुने र एक महिना चल्ने बताइएको छ ।