
काठमाडौं । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध जेठ २ गतेसम्म कायम गर्न कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले निष्कर्ष निकालेको छ । उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले तत्काल हवाई उडान सुचारु गर्न नसकिने निष्कर्ष निकालेको हो ।
लकडाउनसँगै सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा वैशाख १८ गतेसम्म प्रतिबन्ध लगाएको छ । हवाई उडानलाई जेठ २ गतेसम्म कायम गर्न समितिले सिफारिस गरेको हो ।
त्यस्तै समन्वय समितिले तत्कालै लकडाउन खुकुलो बनाउने परिस्थिति नरहेको निष्कर्ष निकालेको छ । देशका विभिन्न भागमा कोरोना संक्रमण देखिएको र सबै क्षेत्रमा परीक्षण भइनसकेकाले देश संक्रमणको खतराबाट मुक्त नभएको समितिले निस्कर्ष निकालेको हो ।
समितिको बैठकले लकडाउन घटाउने वा जारी राख्ने भन्नेबारे ठोस निस्कर्षमा भने नपुगेको समितिका सचिव नारायण विडारीले बताए । यही वैशाख १५ गते लकडाउनको अवधि सकिदैछ । यसबारे थप निर्णय गर्न आइतबार मन्त्रिपरिषद्को बैठक बस्ने जनाएको छ ।
शुक्रबारको मन्त्रिपरिषद्काे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटीबारे छलफल गरेर सिफारिस गर्न निर्देशन दिएका थिए ।