राइनासको स्याउलीबजारमा चरी बाघ फेला

-


     मर्दी न्युज    
     वैशाख १३ गते २०७७ मा प्रकाशित


बेलिना थापा

लमजुङ, १३ वैशाख । मजुङको राइनास नगरपालिका ६, स्याउलीबजारमा लियोपर्ड क्याट (चरी बाघ) को बच्चा फेला परेको छ ।

जंगलबाट बस्तीमा आएको चरी बाघलाई वन कर्मचारीले जंगलमा लगेर छोडेका छन् । स्थानीयले फेला पारेको चरी बाघको बच्चालाई वन कर्मचारीले उद्दार गरी जंगलमा छाडेका छन् ।

बिरालो जस्तै देखिने चरी बाघको बच्चालाई स्थानीयको सहयोगमा नियन्त्रणमा लिई वन कर्मचारीले जंगलमा लगेर छाडेको सव डिभिजन वन कार्यालय राइनास–दूधपोखरीले जनाएको छ । शुक्रबार अपरान्ह बस्तीमा परेको चरीबाघको बच्चालाई फरेस्टर प्रमोद सुनार, वन रक्षक ओमप्रकाश घर्ती र श्रीमान श्रेष्ठले उद्दार गरी साँझ जंगलमा छाडेको बताएको छ । उक्त चरीबाघ बच्चा करीब ६ देखि ८ महिनासम्मको अनुमान गरिएको छ ।

फरेस्टर प्रमोद सुनारले चरीबाघको बच्चामा कुनै स्वास्थ्य समस्या नभएपछि जंगलमा लगेर छाडिएको बताए । बिहीबार राइनास नगरपालिका १, बोराङखोलामा अन्दाजी डेढबर्षको चरीबाघ मरेको अवस्थामा भेटिएको पनि उनले बताए । उनका अनुसार उक्त मरेको अवस्थामा भेटिएको चरीबाघ भाले हो । असिना धेरै परेकाले चरीबाघको मरेको हुनसक्ने अनुमान गरेका छन् ।

शुक्रबार भेटिएको चरी बाघ जंगलमा आगो लागेका कारण बस्तीतिर आएको हुनसक्ने डिभिजन वन अधिकृत मोहनराज काफ्लेले बताए ।

आगोले पोलेको अवस्था भेटिएका केही जंगली जनावर उपचारका क्रममा मरेको उनले जानकारी दिए । उनका अनुसार गाउँमा मानिसको चहलपहल कम भएकाले पनि जंगली जनावर मानवस्तीमा आएको हुनसक्छ ।

काफ्लेका अनुसार चरी बाघ तराईदेखि ४ हजार ५ सय मिटर उचाईसम्म पाइन्छ । चरीबाघ तराईदेखि उच्च पहाडी भूभागमा पाइने सानो जंगली बिरालो परिवारको जनावर हो । यसको तौल ३ देखि ७ किलोसम्म र लम्बाई ४५ देखि ७५ सेन्टीमिटरसम्म हुन्छ । चरीबाघ नेपालको संरक्षित सूचिमा रहेको स्तनधारी जनावर हो । गोरखापत्र अनलाइन