त्रिविले जारी गर्यो अनलाइन कक्षा आचारसंहितासहितको निर्देशिका

-


     मर्दी न्युज    
     १४ बैशाख २०७७ मा प्रकाशित


पोखरा । अनलाइनमा माध्यमबाट सबै क्याम्पस, विभाग र स्कुलमा पठनपाठन गराउन त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शुक्रवार आचारसंहिता सहितको निर्देशिका जारी गरेको छ ।

विश्वविद्यालयले मुलुकमा लकडाउनका कारण विद्यार्थीहरुको शैक्षिक वर्षमा असर नपरोस् भनेर प्रयोगात्मकबाहेक विद्युतीय माध्यम (अनलाइन) बाट गरिने कक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७७ तयार पारेर कार्यकारी परिषद्बाट स्वीकृत गरिएको रजिष्ट्रार प्रा. डा. पेशल दाहाले जानकारी दिएका छन् । अनलाइन कक्षामा हुनसक्ने कमीकमजोरीलाई रोक्न निर्देशिका जारी गरिएको रजिष्ट्रार दाहालले विज्ञप्तिमार्फत जनाएका छन् ।

निर्देशिकामा आचारसंहिता र कारबाहीको प्रावधानसमेत राखिएको छ । विद्यार्थी, शिक्षक र कर्मचारीले आचारसंहिता उल्लंघन गरेमा विश्वविद्यालयले कारबाही गर्ने चेतावनी दिइएको छ । निर्देशिकामा भनिएको छ, ‘कुनै विद्यार्थी, शिक्षक र कर्मचारीले आचार संहिता उल्लंघनको गरेमा आचार संहिताको प्रकृति, किसिम र मात्रा हेरी विश्वविद्यालयको नियमानुसार कारवाही गरिनेछ ।’

निर्देशिकाले त्रिविका स्कुल, विभाग र क्याम्पसबाहेक पूर्णकालिन शिक्षकलाई अन्य शैक्षिक संस्थाको अनलाइन कक्षामा सहभागी हुन पनि रोक लगाएको छ ।