खेम गुरुङ
पोखरा, १५ वैशाख । पोखरा महानगरपालिका –९ स्थित बसपार्कसँगै रहेका कृष्णटोलका स्थानीय बासिन्दाले राहत नपाएको भन्दै सडक प्रदर्शनमै उत्रिएका छन् ।
हिजो वडा नं. ९ को कार्यालयमा धर्ना बसेका कृष्णटोलका स्थानीयहरु आज सोमवार पोखरा महानगरपालिकाको कार्यालय अगाडि जम्मा भई आफूहरुलाई तत्काल राहत दिनुपर्ने माग गरेका हुन् ।
कोरोना भाइरसको संक्रमणको जोखिम बढ्न नदिनका लागि सरकारले लागू गरेको एक महिना भन्दा बढी लकडाउनका दिन कट्दासम्म राहतको पर्याप्त व्यवस्था नगरेको भन्दै स्थानीय बासिन्दा लकडाउन उल्लंघन गरेरै प्रदर्शनमा उत्रिएका हुन् ।
अधिकांश सुकुम्वासी बस्ती रहेको कृष्णटोलका स्थानीयको ठूलो संख्यामा महानगरपालिका अगाडि उपस्थित भई नाराबाजीमा उत्रिएकालाई प्रहरीले त्यहाँबाट हटाएका छन् ।