लकडाउनमा घर बसेका सरकारी कर्मचारीलाई सार्वजनिक विदा कायम

-


     मर्दी न्युज    
     १५ बैशाख २०७७ मा प्रकाशित


पोखरा । सरकारले चैत ९ गतेपछि लकडाउनका कारण कार्यालय जान नसकेका सबै कर्मचारीहरुलाई सो अवधिको विदालाई सार्वजनिक विदा कायम गरी तलब भत्ता दिने निर्णय गरेको छ ।

त्यसरी दिइएको विदा कर्मचारीहरुको व्यक्तिगत विदा कटौती नगरी सार्वजनिक विदा सरह हुने गृह मन्त्रालयले आज सोमवार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सो निर्णय गरेको हो ।

गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार ‘चैत ९ गते र तत्पश्चात विभिन्न मितिमा जारी गरेको आदेश बमोजिम सम्पूर्ण सरकारी कार्यालय, निकाय वा उद्योगले विदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाई आएको तलब, भत्ता पाउने गरी त्यसरी विदा दिएको अवधिलाई सम्बन्धित कार्यालय प्रमुखले सार्वजनिक विदा कायम गर्ने निर्णय गरेको’ उल्लेख छ ।

यो विदाको अवधिलाई सम्बन्धित कार्यालय प्रमुखले हाजिरी अभिलेखमा सार्वजनिक विदा कायम गर्नुपर्नेछ । यो अवधिमा उनीहरुको तलब लगायत खाइपाई आएको भत्ता समेत यथावत रहने गृहसचिव महेश्वर न्यौपानेले राजपत्रमा जारी गरेको सूचनामा उल्लेख छ ।