काठमाडौं । जनतना समाजवादीका नेता एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको अन्तर्वार्तालाई लिएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रेडियो नेपालका कार्यकारी निर्देशकलाई स्पष्टीकरण सोधेको छ ।
रेडियोको अन्तर्वार्ताको विषयमा के कसो हो भनी बुझ्न भन्दै मन्त्रालयले रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई स्पष्टीकरण सोधेको हो ।
रेडियो नेपालबाट सोमबार बिहान ६ः३० बजे प्रत्यक्ष प्रसारण भएको अन्तरसंवाद कार्यक्रममा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई आमन्त्रण गरी जातीय विद्धेष, घृणा उब्जाएको, सत्ता कब्जा, पंगु, निरंकुश शासक र भष्मासुरजस्ता भ्रामक र लाञ्छनायुक्त शब्द सरकारविरुद्ध प्रयोग भएको संवाद प्रत्यक्ष प्रसारण भएको पाइएको भन्दै तीन दिनभित्रमा स्पष्टीकरण पेश गर्न पत्रमा भनिएको छ ।
यससलाई लिएर रेडियो प्रसार विकास समिति (रेडियो नेपाल) ले सोमबार नै विज्ञप्ति जारी गरेर माफी मागेको थियो । भट्टराईले प्रधानमन्त्री ओलीप्रति लक्षित गरी प्रयोग गरेको भाषा र विचारले दुःखी बनाएको भन्दै रेडियो नेपालले आगामी दिनमा अतिथि चयन गर्दा गम्भीर रुपमा सचेत हुने विज्ञप्तिमा बताएको थियो ।