पोखरा । बुधवार नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको स्वाब परीक्षणका क्रममा उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो ।
योसँगै कुल संक्रमितको संख्या ५७ पुगेको छ । बुधबार पर्साका ४६ वर्षीय पुरुष र बाराका ४३ र ३१ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । प्रवक्ता देवकोटाका अनुसार उनीहरु तिनैजना वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमितसँगै दिल्लीबाट फर्किएका थिए ।
प्रवक्ता देवकोटाका अनुसार कोशी अस्पतालमा ३१, वीरगन्जमा ८, धनगढी र भरतपुरमा एक÷एक गरेर ४१ जनाको उपचार भइराखेको छ । संक्रमितमध्ये १६ जना भने निको भएर घर फर्किसकेका छन ।
देशभर आइसोलेसनमा ८७ जनाको उपचार भइरहेको छ । जसमध्ये उपत्यकामा चार र बाहिर ८३ बिरामी रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा २२ हजार ९ सय १ जना रहेका छन ।