पोखरा, १८ वैशाख । आमाले शिशुलाई स्तनपान गराउँदा सुरक्षित तवरले गराएमा कोरोना भाइरस (कोभिड–१९) नसर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएको छ ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता देवकोटाले अहिलेसम्मको अध्ययनले स्तनपानबाट शिशुलाई कोरोना नसरेको जानकारी दिएका हुन ।
‘अहिलेसम्म भएका अध्ययनहरुले स्तनपानबाट कोरोना भाइरस सरेको देखाएको छैन’, प्रवक्ता देवकोटाले भने, ‘त्यसैले स्तनपानलाई निरन्तरता दिनु सुरक्षित नै हुन्छ ।’
प्रवक्ता देवकोटाले कोरोनाको लक्षण देखिएका वा क्वारेन्टाइनमा रहेका आमाहरुले स्तनपान गराउँदा सचेतता भने अपनाउनुपर्नेमा जोड दिएका छन । लक्षण देखिएका वा क्वारेन्टाइनमा रहेका आमाले स्तनपान गराउँदा र बालबालिकाको सम्पर्कमा आउनु अगाडि वा पछाडि साबुन पानीले हात धुने गर्नुपर्ने प्रवक्ता देवकोटाले बताए ।