पोखरा, १८ वैशाख । निजी विद्यालयले सञ्चालन गरिरहेका अनलाइन कक्षा बन्द गर्न पोखरा महानगरपालिकाले निर्देशन दिएको छ । कोराना भाइरस (कोभिड–१९)का कारण विद्यालय बन्द भएपछि पठनपाठनमा प्रभाव परेको भन्दै संस्थागत विद्यालयहरुले घरमै रहेका विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन सूचना जारी गरी केहीले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् ।
अनलाइन कक्षा सञ्चालन गर्दा सम्पूर्ण विद्यार्थीहरुमा आवश्यक पूर्वाधार तथा इन्टरनेटको पहुँच नरहेको, समाजमा विकृती निम्त्याउनुका साथै विद्यार्थी तथा अभिभावकहरुलाई मानिसक दबाब पर्न गएकोले त्यस्ता कार्य रोक्न उजुरी परेको भन्दै महानगरपालिकाको शैक्षिक प्रशासन शाखाले बिहीवार सूचना जारी गरी अनुमति विना अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन जारी गरेको छ ।
‘अनलाइन कक्षा सञ्चालन गर्दा सम्पूर्ण विद्यार्थीहरुमा आवश्यक पुर्वाधार तथा इन्टरनेटको पहुँच नरहेको साथै सम्बन्धित निकायको अनुमति तथा आवश्यक पूर्वाधार बिनानै अनलाइन कक्षा सन्चालन गर्दा समाजमा थप विकृति निम्त्याउनुका साथै अनलाइन कक्षाको पहुँचमा नरहेका विद्यार्थी तथा अभिभावकहरुलाई मानसिक दबाबसमेत पर्ने गरेकाले त्यस्ता कक्षाहरु बन्द गराउनु पर्ने’ भनी महाशाखाका उपसचिव गंगाबहादुर गुरुङद्वारा जारी गरेको सूचनामा भनिएको छ ।