अन्नपूर्ण संरक्षण क्षेत्रबाट अति संकट्टापन्न डंगर गिद्धको उद्धार

-


     मर्दी न्युज    
     १८ बैशाख २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा । कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकामा एक घाइते अति संकट्टापन्न डंगर गिद्धको उद्धार गरिएको छ । अन्नपुर्ण संरक्षण क्षेत्र परीयोजना छोमरोङका इन्चार्ज नेत्र शर्मा, स्थानिय वडा अध्यक्ष तथा स्थानिय युवा आकाश गुरुङको अगुवाईमा उक्त गिद्धलाई कमजोर अवस्थामा उद्धार गरेका हुन । उद्धार गरिएको उक्त गिद्ध C6 ट्याग रहेको र हाल उक्त गिद्धलाई अन्नपुर्ण संरक्षण क्षेत्रको छोमरोङ चेकपोष्टमा राखिएको छ ।

गिद्ध विचरण गरिएको क्षेत्र स्याटेलाइटबाट हेर्दा

प्रकृतिबाट गिद्ध लोप हुनबाट बचाउने उद्देश्य अनुसार चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गिद्ध संरक्षण तथा प्रजनन केन्दमा हुर्काईएका र त्यहा जन्मिएका गिद्धलाई सुरक्षित प्राकृतिक वातावरणमा पुर्नस्थापना गराउने लक्ष्य अनुसार सन् २०१७ मा ६ , सन् २०१८ मा १२ र सन् २०१९ मा १३ डंगर गिद्धलाई स्याटेलाईट ट्याग जडान गरी प्राकृतिक बासस्थानमा छाडि नियमित अनुगमन गरीराखिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको गिद्ध पुर्नस्थापना कार्ययोजना २०१६–२०१९ अनुसार यो कार्यलाई अघि बढाईएको छ । यि गिद्धको नियमित अनुगमनका लागि ढाडमा जडान गरीएका स्याटेलाईट ट्यागले पठाउने जानाकारीलाई पछ्याउने गरीन्छ । यि गिद्ध र जंगली गिद्ध बिचको अन्तरक्रिया तथा तुलनात्मक अध्य्नयका लागि ३० वटा जंगली डंगर गिद्धमा पनि स्याटेलाईट ट्याग लगाई छाडिएको छ ।

घाइते गिद्ध । तस्विरः नेत्र शर्मा

स्याटेलाईट ट्याग जडान गरीएका जंगली गिद्धको हालसम्मको नियमित अनुगमनमा मुलत नेपालको करीव २० जिल्लाको २५ हजार बर्ग कि.मी. क्षेत्रमा विचरण गरेको देखीन्छ भने अपवाद स्वरुप एउटा स्याटेलाईट ट्याग जडान गरीएको जंगली गिद्ध कावासोतीको पिठौलीबाट करीव ११ सय कि.मी. टाढा पश्चिम–उत्तरतर्फ भारत र पाकिस्तानको सिमा जम्मु कास्मीर क्षेत्र सम्म पुगेको छ ।

“विगतका दिनहरुमा प्रजनन केन्दबाट छाडिएका गिद्धहरु नवलपरासीको कावासोतीमा रहेको जटायु रेष्टुरेन्ट आसपासको क्षेत्र आसपासमा मात्र बस्ने गर्थे भने पछिल्लो करीव डेढ महिना यता करीव १ सय ९० कि.मी टाढा सम्म पुगेको पाईएको छ । नौ वटा त्यसरी छाडीएका गिद्धको स्याटेलाईट ट्यागले पठाएको तथ्याङ्ख केलाउदा ति गिद्धहरु करीव १७ हजार वर्ग कि.मी. क्षेत्रमा विचरण गरेको देखीन्छ । त्यसै गरी प्रजनन केन्दबाट छाडिएका गिद्धहरु मध्ये ३ जोडीले यस प्रजनन अवधीमा जोडी बनाई गुँड बनाउने प्रयास पनि गरेका थिए । यसले संरक्षणकर्मिलाई उत्साहित बनाएको छ ।” नेपाल पंक्षी संरक्षण संघका गिद्ध संरक्षण अधिकृत कृष्ण भुसाल बताउनु हुन्छ ।

घाइते गिद्धको उद्धा गर्दै ।

स्याटेलाईट ट्याग जडान गरीएका यि गिद्धहरु कुन कुन ठाउमा जान्छन, कुन प्रकारको सिनो खान्छन, बासस्थान कस्तो छ, कता कता जान्छन भनि ग्राउण्ड टुर्थिङ गरीराखिएको छ ।

नेपाल पंक्षी संरक्षण संघका अध्यक्ष राजेन्द्र गुरुङ्गका थप्नुहुन्छ “गिद्ध संरक्षण तथा प्रजनन केन्द्रको स्थापना र संचालनमा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभाग, चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पन्छी संरक्षण संघको संयुक्त अभियानमा बेलायती संस्था आरएसपिवी र जेडएसएलको महत्वपुर्ण सहयोग रहेको छ । यस केन्द्रमा राख्नको लागि सन् २००८, २००९ र २०१० मा पश्चिम नेपालका जिल्लाहरु नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ्ग, कैलाली, कञ्चनपुर, अर्घाखाँची, पाल्पा, स्याङ्जा र कास्की बाट ६० वटा डंगर गिद्धका बच्चाहरु संकलन गरीएको थियो । यस केन्द्रमा राखिएका गिद्धले सन् २०१२ देखी अण्डा पार्न सुरुवात गरेका थिए भने हालसम्म १८ वोटा बच्चा कोरलीएका छन । यहा हुर्काइएका गिद्धलाई प्राकृतिक बासस्थानमा छाडनु अघि नवलपरासीको कावासोती, पिठौलीमा रहेको रिलीज एभिएरीमा ल्याई करीव ८ महिना सम्म प्राकृतिक बासस्थान र जंगली गिद्ध सँग घुलमिल गराई अन्तत प्राकृतिक बासस्थानमा छाडिन्छ । ”

यसरी छाडिएका गिद्धहरु टाढा टाढा सम्म उडने क्रममा कहिले काही कमजोर वा घाईते पनि हुने गरेका छन । यातायातको सहजिकरण भए पश्चात उक्त गिद्धलाई जटायु रेष्टुरेण्ट ब्यबस्थापन क्षेत्र कावासोती, नवलपुर लगि उपचार गरि पुन प्रकृतिमा छाडिने संरक्षणविद् तथा ब्यबस्थापन समितिका प्रमुख डि.बि. चौधरीले मर्दि न्युजलाई बताउनुभयो । यस अघि मनास्लु संरक्षण क्षेत्र र भारतको कुशिनगर जिल्ला, उत्तर प्रदेशवाट एक एक गिद्धलाई उद्धार गरिएको थियो ।