पोखरा । आज १३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । कोरोना भाइरस (कोभिड–१९) को कारण यो अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ । कोरोनाको संक्रमण जोखिम तथा रोकथामको लागि भन्दै सरकारले देशव्यापी लकडाउन गरेसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम राखेका छैनन् ।
औपचारिक कार्यक्रम नराखिए पनि श्रमिक दिवसको सन्दर्भ पारेर संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले कोरोनाका कारण श्रमिकले भोग्दै आएका साझा समस्या सम्बोधन गर्न सरोकारवालाको ध्यानाकर्षण गराउँदै मनाउने जनाएको छ ।
त्यस्तै नेपाल ट्रेड युनियन काँग्रेसले पनि श्रमिकका समस्या समाधान गर्न दबाब दिने उद्देश्यले देशभरका एकाइमार्फत सरकारलाई पत्राचार गरेको जनाएको छ । ट्रेड युनियन काँग्रेसले कोरोना भाइरस संक्रमणपछि नेपालका श्रम क्षेत्रमा भएको परिस्थितिलाई सामाना गर्न स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारलाई पत्राचार गर्ने तयारी गरिएको जानकारी दिए ।
‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर दिवस सन् १८९० देखि हरेक वर्ष मे १ मा यो दिवस मनाउन थालिएको हो ।
श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
मजदुर आन्दोलन चर्कदै गर्दा सन् १८८६ मा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम बिस्फोट भयो । सो बम बिस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन ग¥यो । प्रहरीको गोली लागि सात मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष मे १ मा श्रमिक दिवस मनाउन थालियो ।
विश्वका मजदुरले यो दिवसलाई विशेष पर्वका रूपमा लिँदै गुणस्तरीय जीवन बिताउन आफ्ना सुविधाको समयानुकूल बढोत्तरी तथा आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरि मनाउँछन् । नेपालमा समेत मजदुर संगठनले विभिन्न कार्यक्रम गरि यो दिवस मनाउने गर्दछन् ।
नेपालमा विराटनगरमा विसं २००७ मा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो ।