कोरोना अपडेटः संक्रमितको संख्या ३३ लाख नाघ्यो

-


     मर्दी न्युज    
     १९ बैशाख २०७७ मा प्रकाशित


पोखरा । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमित संख्या ३३ लाख नाघेको छ । विश्वभर गरी हालसम्म ३३ लाख ७ हजार ६६० जना संक्रमितको पुष्टि भएको तथ्यांकले देखाएको छ ।

जसमध्ये सबैभन्दा धेरै अमेरिकामा संक्रमित छन् । अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या १० लाख ९५ हजार २३ जनामा पुष्टि भैसकेका छन् ।

त्यस्तै स्पेनमा कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ६३९, इटलीमा २ लाख ५ हजार ४६३, बेलायतमा १ लाख ७१ हजार २५३, फ्रान्समा १ लाख ६७ हजार १७८, जर्मनीमा १ लाख ६३ हजार ९ तथा टर्कीमा १ लाख २० हजार २०४ जनामा पुष्टि भइसकेको छ । त्यसैगरी रसियामा पनि संक्रमितको हुनेको संख्या एक लाख नाघेको छ । रसियामा हालसम्म १ लाख ६ हजार ४९८ जना कोरोना संक्रमितको पुष्टि भइसकेको छ ।

कोरोना संक्रमणका कारण विश्वभर गरी २ लाख ३४ हजार ७४ जनाले ज्यान गुमाइसकेका छन् । सबैभन्दा धेरै नागरिक गुमाउनेमा अमेरिका अग्रपंक्तिमा छन् । अमेरिकामा हालसम्म कोरोनाबाट ६३ हजार ८५६ मानिसले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै अमेरिका पछि इटलीमा २७ हजार ९६७ मानिसले कोरोनाबाट ज्यान गुमाएका छन् । यसैगरी बेलायतमा २६ हजार ७७१, स्पेनमा २४ हजार ५४३ तथा फ्रान्समा २४ हजार ३७६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेको जनाएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमितको कारण कसैले ज्यान गुमाएको भने छैन । हालसम्म संक्रमितको संख्या ५७ पुगेको छ भने संक्रमितमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् । उपचाररत बाँकी ४१ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ८० जना आइसोलेसनमा उपचाररत छन् ।