हिउँपहिरोमा हराएकामध्ये बाँकी २ जनाको शव भेटियो, हिउँपहिरोमा परेका सम्पूर्णको शव फेला

-


     मर्दी न्युज    
     १९ बैशाख २०७७ मा प्रकाशित


फाइल तस्विर

गंगा घले


पोखरा, १९ वैशाख । विश्व प्रख्यात पर्यटक पदमार्ग अन्नपूर्ण आधार शिविरको देउराली र हिङ्कु गुफाको बीचमा गत माघ ३ गते हिउँपहिरोमा हराएको ४ जना कोरियाली पर्यटक र ३ जना नेपाली सहयोगीमध्ये आज बिहान ९ः३० बजे बाँकी दुई जनाको शव फेला परेको छ ।

आज बिहान फेला परेको शवमध्ये एक जना कोरियाली पर्यटक र अर्को एक जना नेपाली सहयोगि छिरिङ भोटेको हो । उक्त शव मोदीखोला भन्दा केहि माथीबाट निकालिएको छ । यस सङ्गै उक्त स्थान र आसपासमा हराएका ४ कोरियाली र ३ जना नेपाली सहयोगी र गाइड सम्पूर्णको शब प्राप्त भएको छ ।

नियमित प्रक्रिया पुर्याएपछि नेपाली सहयाेगी छिरिङ भोटेकाे शव र काेरियाली पर्यटककाे शव पोखरा हुँदै काठमाडौं लैजाने खोजी कार्यमा संलग्न नेपाली सेना तथा नेपाल प्रहरीले बताएको देउराली ड्रीम लजका संचालक कृष्णमान गुरुङले जानकारी दिए । यसैगरी खोजीकार्यमा नेपाली सेना, नेपाल प्रहरी, स्थानीय छोम्रोङ्गको सेन्चुरी युवा क्लब तथा स्थानीय होटल र लज व्यवस्थापन समितिको सक्रिय रहेको थियो ।


यसैगरी माछापुच्छ्रे बेस क्याम्पस्थित फिस्टेल गेस्ट हाउसका सन्चालकद्वय दिलिप गुरुङ र मनप्रसाद गुरुङ पनि खोजी कार्यमा अहोरात्र खटिएको गुरुङले जानकारी दिए । यस अगाडि फरक फरक मितिमा नेपाली सहयोगीहरु सरोज परियार र मेनबहादुर तामाङ तथा ३ जना कोरियाली पर्यटकको शव फेलापरि सकेको थियो ।

हिउँपहिरोमा परि ज्यान गुमाएका कोरियन पर्यटकहरुमा ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सूक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन रहेकाछन् ।