काठमाडौं । गायिका रानुदेवी अधिकारीको ८४ वर्षको उमेरमा निधन भएको छ । बिहीबार सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।
२००७ सालको साँस्कृतिक क्रन्ति मोर्चाको प्रचार प्रसारका लागि बिराटनगरमा ‘प्रजातान्त्रिक नेपाल रेडियो’ खोलिएको थियो । उनी त्यसको पहिलो गायिका हुन् । उक्त रेडियोबाट उनले नेपालमै पहिलो पटक लाइभ गीत गाएकी थिइन् ।
उनले सो बेला प्रजातान्त्रिक आन्दोलनका लागि सर्वसाधारणलाई उत्साह र हौसला प्रदान गर्ने खालका ‘जाग जाग’ बोल लगायत केही क्रान्तिका गीतहरु गाएकी थिइन् ।
उनले क्रान्ति सफल बनाउन यो बाहेक अरू थुप्रै गीत गाएकी थिइन । क्रान्ति सफल भएपछि उनका ६ वटा गीत रेकर्ड भएका छन् । ०६२÷६३ सालको जनआन्दोलनपछि पनि उनको स्वरमा ‘जागे नेपाली, उठे नेपाली शान्ति लिएर, हत्या र हिंसा पन्छाउँदै हातेमालो गरेर’ बोलको गीत रेकर्ड भएको छ । शंकर खरेलको शब्द र सुमित खड्काको संगीत रहेको सो गीतमा उनले स्वर दिएकी थिइन ।
रानुदेवीको बारेमा ‘५६ वर्षपछि’ शीर्षकको वृतचित्र समेत बनेको छ भने ‘भन्ने मेरो कथा’ नामक आत्मकथा प्रकाशित छ । वृतचित्र निर्माण र आत्मकथा लेखन पत्रकार शंकर खरेलले गरेका हुन ।
सन् १९३६ नोभेम्बर २७ मा वीरगन्जमा जन्मेकी रानुदेवीको बाल्यकाल भारतको बनारसमा बितेको थियो ।