पोखरा । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमित संख्या झण्डै ३४ लाख पुग्न लागेको छ । विश्वभर गरी हालसम्म ३३ लाख ९८ हजार ४७३ जनामा संक्रमित भइसकेको तथ्यांकले देखाएको छ ।
जसमध्ये सबैभन्दा धेरै अमेरिकामा छन् । अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या ११ लाख ३१ हजार ३० जनामा पुष्टि भैसकेको छ ।
त्यस्तै स्पेनमा कोरोना संक्रमितको संख्या २ लाख ४२ हजार ९८८, इटलीमा २ लाख ७ हजार ४२८, बेलायतमा १ लाख ७७ हजार ४५४, फ्रान्समा १ लाख ६७ हजार ३४६, जर्मनीमा १ लाख ६४ हजार ७७, टर्कीमा १ लाख २२ हजार ३९२ तथा रसियामा १ लाख १४ हजार ४३१ जनामा पुष्टि भइसकेको छ ।
कोरोना संक्रमणका कारण विश्वभर गरी २ लाख ३९ हजार ४४८ जनाले ज्यान गुमाइसकेका छन् । सबैभन्दा धेरै नागरिक गुमाउनेमा अमेरिका अग्रपंक्तिमा छन् । अमेरिकामा हालसम्म कोरोनाबाट ६५ हजार ७५३ मानिसले ज्यान गुमाइसकेका छन् ।
त्यस्तै अमेरिका पछि इटलीमा २८ हजार २३६ मानिसले कोरोनाबाट ज्यान गुमाएका छन् । यसैगरी बेलायतमा २७ हजार ५१० जना, स्पेनमा २४ हजार ८२४ तथा फ्रान्समा २४ हजार ५९४ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाइसकेको जनाएको छ ।
नेपालमा शुक्रवार २ जना कोरोना संक्रमितको संख्या थपिएसँगै ५९ पुगेको छ । नेपालमा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । संक्रमितमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् । उपचाररत बाँकीको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।