गण्डकी प्रदेशमा ५ जना डेंगु संक्रमित भेटिए

-


     मर्दी न्युज    
     २१ बैशाख २०७७ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा आइतबार ५ जनामा डेंगुका संक्रमित भेटिएको छ । आइतबार पोखरामा १ र म्याग्दीमा ४ जनामा डेंगु संक्रमण भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय निर्देशक डा. विनोदविन्दु शर्माले बताए ।

स्याङ्जा घर भइ पोखरा महानगरपालिका –१७ बिरौटा बस्दै आएका एक ७० बर्षीय बृद्ध र म्याग्दीका बिभिन्न क्षेत्रका ४ जना व्यक्तिमा डेंगु संक्रमण देखिएको निर्देशक डा. शर्माले बताए ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण जोखिम न्यूनीकरणको लागि सरकारले गरेको लकडाउनको अवस्थामा देखिएको डेंगु संक्रमणबाट प्रदेशमा अर्को त्रास फैलिएको छ । यसबाट जोगिन सम्पूर्ण प्रदेशबासिलाई लामखुट्टेको टोकाईबाट बच्न स्वास्थ्य निर्देशनालयले आग्रह गरेको छ ।

लामखुट्टेको टोकाइबाट मानिसमा डेंगु रोग सर्दछ । डा. शर्माले डेंगु नियन्त्रणको लागि लामखुट्टेको लार्भा र प्युपा बस्ने पानीयुक्त वासस्थान नष्ट गर्नुपर्ने बताए ।

उनले कोरोना कहरको यो अवस्थामा डेंगु नियन्त्रणको लागि सबै मिलेर लाग्नुपर्ने बताए । डेंगु संक्रमणबाट बच्न साझपख घरबाहिर ननिस्कन, घरभित्र सम्भव भएसम्म झुल टाँग्न, पानी जम्ने खाल्डा खुल्डी पुर्ने तथा अन्य पानीयुक्त स्थानहरु खाली गर्नुपर्ने उनले बताए ।