पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानिसको शरीरमा निःसंक्रमणको लागि रसायन मिसाइएको झोल (डिस्इन्फेक्टेन्ट) छर्किनु हानिकारक भएको बताएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शरीरमा रसायन स्प्रे गरेर कोरोना भाइरस नमर्ने बताए ।
उनका अनुसार शरीरमा छर्किएको डिस्इन्फेक्टेन्टले आँखा, मुख, नाक आदिमा हानी पुर्याउनुका साथै सही तरिकाले उपयोग नगर्दा श्वासप्रश्वासमा विभिन्न समस्या उत्पन्न हुने बताए । उनले शरीरमा कोरोना भाइरस प्रवेश गरेपछि पनि यस्ता डिस्इन्फेक्टेन्ट छर्दा नाश नहुने बताए ।
मानिसमाथि डिस्इन्फेक्टेन्ट छर्किने र विभिन्न खाले डिस्इन्फेक्टेन्ट गर्ने द्वार बनाइएका विवरणहरू आइरहँदा सोमवार नियमित मिडिया ब्रिफिङमार्फत प्रवक्ता देवकोटाले यस्तो बताएका हुन् ।