पोखरा, २३ वैशाख । तमु प्ये ल्हु संघले गण्डकी प्रदेशद्वारा सञ्चालन भएको कोरोना भाइरस रोग नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गरेको छ । संघले सामाजिक उत्तरदायित्वअनुसार आज मंगलवार प्रदेशको कोरोना भाइरस रोग नियन्त्रण तथा उपचार कोषमा एक लाख ३५ हजार रुपैयाँ जम्मा गरेको हो ।
तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी टु तमु, महासचिव हर्कबहादुर योज तमु, कोषाध्यक्ष ओमबहादुर थिम्जें तमुलगायतका ६ जना व्यक्तिहरुले प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।
यसैगरी तमु प्ये ल्हु संघले पोखरा महानगरपालिकाको राहात कोषमा पनि रकम जम्मा गरेको छ । संघका अध्यक्ष हितकाजी टु तमुको टोलीले पोखरा महानगरपालिकाको राहात कोषमा ७५ हजार रुपैयाँ बराबरको चेक मेयर मानबहादुर जिसीलाई हस्तान्तरण गरेको हो ।
पोखरा महानगरका सूचना अधिकारी भरतराज पौडलका अनुसार राहत कोषमा जम्मा भएको रकम मध्ये ३ करोड २० लाखको राहत वितरण गरिएको छ । पोखरा महानगरपालिकाको प्रकोप व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२००३०७०२०००२ मा रकम जम्मा गर्न सकिने छ ।