काठमाडौं । कोरोना भाइरस संक्रमणपछि विराटनगरमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक निको भएर आज डिस्चार्ज भएका छन ।
पछिल्लो पटक गरिएको तीनवटा परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरुलाई बुधबार बिहान डिस्चार्ज गरिएको हो ।
उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका भारतीय जमातीमध्ये ५ र ६ वैशाखमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद निको भएर डिस्चार्ज भएका हुन
बिहान विराटनगरस्थित कोरोना विशेष अस्पतालमा एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सामाजिक विकास मन्त्री जिवन घिमिरेले अस्पतालबाट बिदा गरेका हुन ।
डिस्चार्ज भएपनि उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने छ । निको भएकाहरुमा पनि पुनः संक्रमण देखिएकोले क्वारेन्टाइनमा राखेर निगरानी गरिने कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डाक्टर संगीता मिश्रले बताइन् ।