काठमाडौं । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म पुर्याउने निर्णय गरेको हो ।
यसअघि घोषित लकडाउन भोलि २५ गते सकिँदै थियो । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्दै गएपछि लकडाउनको समय बढाएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।
संक्रमणको जोखिम कायमै रहेको विश्लेषण गर्दै मंगलबार बसेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन थप्न सुझाव दिएको थियो ।
सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो । त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो । त्यसलाई निरन्तरता दिँदै वैशाख ३ गतेसम्म लकडाउन थपिएको थियो भने पुनः थप गरी लकडाउनको अवधि वैशाख १५ सम्म पुर्याएको थियो । पछिल्लो पटक १० दिन थप गर्दै भोलि वैशाख २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको थियो ।
नेपालमा लकडाउनकै अवधिमा कोरोनाको संक्रमण भने बढिरहेको छ । लकडाउन सुरू हुँदा नेपालमा २ जनामात्र कोरोना संक्रमित थिए भने अहिले ८२ जना पुगेका छन ।