कोरोनालाई जितेका तीन जनाको रिपोर्ट पोजिटिभ देखिएपछि अस्पताल भर्ना

-


     मर्दी न्युज    
     २४ बैशाख २०७७ मा प्रकाशित


पोखरा, २४ वैशाख । कोरोना भाइरसको उपचारपछि घर फर्किएका तीन जनाको रिपोर्ट पुनः पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार काठमाडौंमा उपचार गराएका ५८ वर्षीय पुरुष फलोअपमा आउँदा पोजिटिभ देखिएको हो ।

त्यसैगरी वीरगञ्जमा उपचार गराएका दुई जनाको स्वाब परीक्षणको रिपोर्ट पुनः पोजिटिभ देखिएपछि उनीहरुलाई पुनःअस्पताल भर्ना गरिएको हो । वैशाख १४ गते वीरगञ्जको नारायणी अस्पतालबाट डिस्चार्ज भएका रौतहटका १९ वर्षीय र पर्साका ४४ वर्षीय पुरुष छन् ।

वैशाख ११ गते डिस्चार्ज भएका काठमाडौंका ५८ वर्षीय पुरुषलाई पाटन अस्पतालमा भर्ना गरिएको प्रवक्ता देवकोटाले जानकारी दिए । यसैगरी वैशाख १४ गते डिस्चार्ज भएका रौतहट र पर्साका दुई जना पुरुषलाई वीरगञ्जको नारायणी अस्पतालमा भर्ना गरिएको छ ।