विकास निर्माण र उद्योग सशर्त खोल्ने मन्त्रिपरिषद्को निर्णय

-


     मर्दी न्युज    
     वैशाख २४ गते २०७७ मा प्रकाशित


काठमाडौं । सरकारले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गरेपनि विकास निर्माणका काम र उद्योगहरु भने सर्शत खुला गर्ने निर्णय गरेको छ ।

बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय गौरवका आयोजनासँगै सिंचाई, जलविद्युत, खानेपानी, विमानस्थल, र पुल, सडक र सरकारी भवन निर्माणलगायतका कार्य गर्न पाइनेछ । साथै एक स्थानमा एक पटकमा १० जना नबढ्ने गरी सहरी पूर्वाधार शीर्षकका आयोजनामा काम गर्न दिने निर्णय भएको सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।

त्यसका लागि सम्बन्धित निर्माण कम्पनीले दैनिक रुपमा श्रमिकहरुको स्वास्थ्य परीक्षण गर्नुपर्ने, एकै ठाउँमा बास बस्ने व्यवस्था मिलाउने सर्त राखिएको छ ।

यस्तै फलफूल र दुग्धजन्य वस्तुको उत्पादन र विक्री वितरण गर्न पाउने, स्वास्थ्य सेवाका क्षेत्रहरु, भेटेनरी सञ्चालन गर्न पाइने छ ।

यस्तै सर्तसहित औषधिजन्य वस्तुको उत्पादन, विक्री वितरण, दैनिक उपभोग्य वस्तुको उत्पादन र विक्री वितरण, निर्माणजन्य (इँटा, गिट्टी, बालुवा, सिमेन्टजस्ता) सामग्रीको ढुवानी, कृषिजन्य वस्तु उत्पादन र विक्रिवितरण गर्न पाउने निर्णय गरेको छ ।

ढुवानीका सवारी साधनका चालक तथा सहचालकलाई खानाको प्याकेट मात्र विक्री गर्ने गरी राजमार्गमा ५० किलोमिटरको दुरीमा होटल खोल्न दिने निर्णय भएको छ ।

यस्तै बैंक तथा वित्तिय संस्था, सहकारी लगायतले आवश्यक पर्ने कर्मचारीमध्ये बढीमा एक तिहाई कर्मचारी राखेर सेवा सञ्चालन गर्न सकिने सरकारको निर्णय छ भने अतिआवश्यकीय सेवा प्रदान गर्ने सरकारी कार्यालय र संस्थानहरुमा आवश्यक न्यूनतम कर्मचारीबाट आलोपालोमा सेवा दिनुपर्नेछ ।

तर अहिले पनि शैक्षिक संस्था, तालिम तथा प्रशिक्षक केन्द्र, गैरखाद्य बिक्री गर्ने स्टोर र सपिङ मल, धार्मिक स्थलहरुमा भेला, रंगशाला, फुटसल, जिमखाना, शैलुन, होटल बार, यात्रुबाहेक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।