शान्तिको चाहनामा तड्पिरहेको समयमा बुद्धका सन्देशहरु अझ बढी सान्दर्भिकः प्रधानमन्त्री ओली (भिडियोसहित)

-


     मर्दी न्युज    
     २५ बैशाख २०७७ मा प्रकाशित


पोखरा, २५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका सन्देशहरु अझ बढी सान्दर्भिक भइरहेको उल्लेख गरेका छन । बुद्ध जयन्तीका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उनले विश्व शान्तिको चाहनामा तड्पिरहेको समयमा बुद्धका सन्देशहरु अझ बढी सान्दर्भिक भएको उल्लेख गरेका हुन ।

त्यस्तै प्रधानमन्त्री ओलीले २५६४ औँ बुद्धजयन्तीका अवसरमा आज साँझ ७ बजे नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेका छन । प्रधानमन्त्रीले कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा संक्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गरेकाको शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह गरेका हुन ।

शुभकामना सन्देशको पूर्णपाठ

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु !

आज बुद्ध जयन्ती अर्थात् सिद्धार्थ गौतम बुद्धले जन्म लिएको, बुद्धत्व प्राप्त  गरेको र महापरिनिर्वाण गरेको दिन । एकै दिन र एकै तिथिमा परेको हुनाले सबै हिसाबले हामी यस दिनलाई संक्षिप्तमा बुद्ध जयन्ती भनेर मनाउँछौं ।

संयुक्त राष्ट्र संघले विश्व शान्तिका अग्रदुत सिद्धार्थ गौतम बुद्धको सम्मान–स्मृति र उहाँका शान्तिका सन्देशहरुको कदर गर्दै आजको दिनलाई वैशाख दिवस का रुपमा मनाउने गरेको छ । वैशाख डे जसरी धुमधामसँग विश्वव्यापी रुपमा मनाइने गरिन्थ्यो, विश्वस्तरमा सम्मेलन गरेर मनाउने गरिन्थ्यो, यस वर्ष कोरोना भाइरसको महामारीले त्यस रुपमा मनाउन सकिने अवस्था रहेन । फेरि पनि यस अवसरमा म महामानव, जसलाई मानव जातिले भगवान बुद्धका रुपमा मान्ने गरेको छ,  उहाँप्रति अत्यन्तै आदर, सम्मान र श्रद्धासुमन अर्पण गर्न चाहन्छु ।

आज विश्व शान्तिको चाहनामा तड्पिरहेको छ र बुद्धका सन्देशहरु अझ बढी सान्दर्भिक भइरहेका छन् ।

हाम्रो देशमा केही दिन अघि मात्रै फेरि पनि चार जना निर्दोष बालबालिकाहरु बम विस्फोटको अचानक शिकार भएर आफ्नो ज्यान गुमाउन बाध्य भए । म उनीहरुप्रति अत्यन्तै संवेदनशील भावका साथ श्रद्धासुमन अर्पण गर्न चाहन्छु ।

आज कोरोना भाइरसले दुनियाँलाई एउटा नयाँ भयावह त्रासदीको स्थितिमा पुर्‍याएको छ । संक्रमितहरुको संख्या बढ्दो छ र त्यसबाट ज्यान गुमाउनेहरुको संख्या पनि बढ्दो छ । यस दुःखद घडीमा म कोरोेना भाइरसबाट आफ्नो अमूल्य जीवन गुमाउने सबैप्रति श्रद्धासुमन अर्पण गर्न चाहन्छु । र, संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु ।

सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह भइसकेको त छैन । तर, भयावह हुनसक्ने लक्षणहरु छन् । यदि आफ्नो सर्तकता, आफ्नो तयारी र रोकथाममा हामी सबैको सम्झदारीपूर्ण ऐक्यबद्धता भएन भने यस महामारीले भयावह रुप लिन सक्दछ । त्यसकारण हामी सजग हुनु जरुरी छ ।

यस घडीमा म गौतम बुद्धको स्मृति र सम्मानमा उहाँका शान्तिका सन्देशहरु हामी सबै मिलेर सम्प्रेषण गरौं भन्ने आग्रहका साथ दिंवगतहरुप्रति श्रद्धासुमन अर्पण गर्न, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्न, उपचारमा संलग्न स्वास्थयकर्मीहरु, स्वयंसेवीहरु र यस कार्यमा सहयोगी हातहरु बढाउने सबैप्रति ऐक्यबद्धता जनाउन आजको दिन आआफ्ना संस्थाहरु र आआफ्ना घरहरु, निवासहरुमा दीप प्रज्वलन गर्न र शान्तिको कामना गर्न ७ बजे दीप प्रज्वलनका लागि म सबै दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आग्रह र अनुरोध गर्दछु ।

धन्यवाद !