आजदेखि संसदको बजेट अधिवेशन शुरु

-


     मर्दी न्युज    
     २६ बैशाख २०७७ मा प्रकाशित


काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आज शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार आज अपराह्न ४ बजे दुवै सदनको बैठक प्रारम्भ हुँदैछ ।

कोरोना भाइरस (कोभिड–१९)को कहरबीच संयुक्त रुपमा बस्ने प्रतिनिधसभा र राष्ट्रियसभा बैठकका लागि सामाजिक दुरी कायम गरी आसनको व्यवस्था संसद् सचिवालयले पूरा गरिसकेको छ । बिहीबारदेखि सङ्घीय संसद्का सदस्यहरूको कोरोना परीक्षण पनि सुरु गरिएको छ ।

कोरोनाकै जोखिमका कारण जनप्रतिनिधिहरु, कर्मचारी र पत्रकारहरुलाई कोरोना संक्रमण भए–नभएको यकिन गरेर मात्र संसद भवनमा प्रवेश गर्न पाउने बताइएको छ । स्वाब परीक्षण नगराएका सांसदलाई संसद भवनभित्र प्रवेश गर्न निषेध गरिएको छ । स्वाब परीक्षण गराएर कोरोना भाईरसको संक्रमण नेगेटिभ भएको प्रमाण पेश गरेपछि मात्रै संसद भवनमा सांसदले प्रवेश पाउनेछन् ।

संसदले आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथिको (प्रिबजेट) छलफल वैशाख २८ गतेबाट गर्ने भएको छ । यसपटक बजेट अधिवेशन ढिलो गरी आह्वान भएकाले सचिवालयले नीति तथा कार्यक्रम अघि प्रिबजेट छलफल गर्ने कार्यसूची बनाएको छ ।

बजेट प्रस्तुत गर्नु १५ दिन अगावै प्रिबजेट छलफल सक्नुपर्ने संसद् नियमावलीमा व्यवस्था अनुसार वैशाख मसान्तभित्र प्रिबजेट छलफल सम्पन्न गरिसक्नुपर्छ । जेठ १५ मा संसद्का दुवै सदनमा बजेट प्रस्तुत गर्नैपर्ने संवैधानिक व्यवस्था छ ।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभामा तीन दिन र राष्ट्रियसभामा दुई दिन प्रिबजेट छलफल गर्ने कार्यसूची बनाइएको छ । अधिवेशनकै बीच सरकारले जेठ २ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ । संशोधन दर्तापछि नीति तथा कार्यक्रम जेठ ४ गते छलफल प्रारम्भ गर्ने तयारी गरेको छ र जेठ १५ गते बजेट प्रस्तुत गर्नेछ । संसदमा छलफल भएपछि बजेट पारित हुनेछ ।