कोरोना कहरः संक्रमितको संख्या ४० लाख नाघ्यो, ज्यान गुमाउने २ लाख ७५ हजार बढी

-


     मर्दी न्युज    
     २७ बैशाख २०७७ मा प्रकाशित


पोखरा । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमित संख्या ४० लाख नाघेको छ । विश्वभर गरी हालसम्म ४० लाख १० हजार ५७१ जनामा संक्रमित भइसकेको तथ्यांकले देखाएको छ ।

जसमध्ये सबैभन्दा धेरै अमेरिकामा छन् । अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या १३ लाख २१ हजार ६६६ जनामा पुष्टि भैसकेको छ ।

त्यस्तै स्पेनमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ११७, इटलीमा २ लाख १७ हजार १८५ र बेलायतमा २ लाख ११ हजार ३६४ जनामा पुष्टि भइसकेको छ ।

कोरोना संक्रमणका कारण विश्वभर गरी २ लाख ७५ हजार ९५९ जनाले ज्यान गुमाइसकेका छन् । सबैभन्दा धेरै नागरिक गुमाउनेमा अमेरिका अग्रपंक्तिमा छन् । अमेरिकामा हालसम्म कोरोनाबाट ७८ हजार ५९९ मानिसले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै अमेरिका पछि बेलायतमा ३१ हजार २४१ मानिसले कोरोनाबाट ज्यान गुमाएका छन् । यसैगरी इटलीमा ३० हजार २०१ जना, स्पेनमा २६ हजार २९९ तथा फ्रान्समा २६ हजार २३० जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाइसकेको जनाएको छ ।

नेपालमा शुक्रवार १ जनामा कोरोना संक्रमितको संख्या थपिएसँगै १०२ पुगेको छ । नेपालमा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । संक्रमितमध्ये ३१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । उपचाररत बाँकीको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।