पोखरा । नेपालमा थप ७ जनामा कोरोना भाइरसको पुष्टि भएको छ । उदयपुरको भुल्केस्थित ३ जना महिला, कपिलवस्तुको ३ जना पुरुष र पर्सा छपकैयाका एक पुरुषमा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उदयपुरको १८, ४५ र ६५ वर्षीया तीन महिला, कपिलवस्तुको दुईजना १८ वर्षीय र एक १७ वर्षीय पुरुषमा तथा पर्साका छपकैयाका ६२ वर्षीय पुरुषमा कोरोना देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार शनिबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सात जनामा संक्रमण पुष्टि भएको हो ।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।