आज मनास्लु हिमाल आरोहण दिवस

-


     मर्दी न्युज    
     २७ बैशाख २०७७ मा प्रकाशित


पोखरा, २७ वैशाख । विश्वमा आठहजार मिटरभन्दा अग्ला पर्वतीय चुचुरोहरुको संख्या चौध छन । नेपालमा मात्रै त्यस्ता चुचुरोहरु आठवटा र हाम्रो यस गण्डकी प्रदेशमा तिनवटा छन । यस प्रदेशमा धौलागिरी (८१६७ मि.), मनासलु (८१६३ मि.) र अन्नपूर्ण प्रथम ( ८०९१ मि.) गरी तीनवटा रहेका छन ।

तस्विरः गंगा घले

गोर्खा जिल्लामा रहेको मनासलु हिमाल सन १९५६ को मे महिनाको ९ तारीख (आजकै दिन ) पहिलो सफल आरोहण भएको थियो । युको माकीको नेतृत्वमा गएको जापानी आरोहण दलका तोसिओ इमानिशी (जापान) र ग्याल्जेन नोर्बु शेर्पा (भारत)ले सफलतापूर्वक आरोहण गरेका थिए । उनीहरु काठमाडौंबाट आरुघाट, जगत, सामागाउँ हुँदै आधारशिबिर (बेसक्याम्प) पुगेका थिए ।

नेपालका ल्हाक्पा तेन्जिङ शेर्पा (H.C. No:-218) ले हेड कुक (भान्से)को जिम्मेवारी निर्वाह गरेको यस एतिहासिक दिनको सम्झनामा नेपाल पर्वतारोहण संघले विविध कार्यक्रमहरु तथा आरोहीहरुको सम्मान गरी “मनासलु आरोहण दिवस” भब्यतापूर्बक मनाउने गरेतापनि यो वर्ष विश्वमा कोरोना भाइरस (कोभिड(१९) को महामारी र त्यसले सृजना गरेको विषम परिस्थितिका कारण औपचारिक कार्यक्रम नगर्ने भएकोछ ।

तस्विरः गंगा घले

मनास्लुको सफल आरोहण गर्ने पहिलो नेपाली उर्केन छिरिङ्ग शेर्पा हुन । अप्रिल २२ तारीख सन १९७३ मा उहाँले आरोहण गर्नुभएको हो । हालसम्म स्वदेशी र विदेशी गरि एक हजार जनाभन्दा बढीले मनास्लुको चुचुरो चुमिसकेका छन ।