व्यास नगरपालिकाले विद्यार्थी भर्नालाई निरन्तरता दिने

-


     मर्दी न्युज    
     २७ बैशाख २०७७ मा प्रकाशित


दमौली, २७ वैशाख । सरकारले देशभरका विद्यालयहरुलाई कुनै पनि कक्षा, तह र अनलाइन कक्षाका नाममा भर्ना नलिन आग्रह गरेपनि व्यास नगरपालिकाले भने विद्यार्थी भर्ना लिन भनिएको छ ।

व्यास नगरपालिकाका प्रमुख एवम् नगर शिक्षा समितिका अध्यक्ष समेत रहेका मेयर वैकुण्ठ न्यौपानेले सरकारको निर्णयले द्विविधा सिर्जना गरेको बताउँदै विद्यालयमा पठनपाठन मात्र बन्द गरिएको हुँदा सामाजिक दुरी कायम गरी विद्यार्थी भर्नालाई निरन्तर दिन भनिएको हो ।

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुबीच भएको छलफलमा एकपटक भर्ना भई अध्ययन गरिरहेका विद्यार्थीलाई सोही विद्यालयमा भर्ना गर्दा भर्ना शुल्क नलिन शनिवार नगरपालिकाका प्रवक्त एवम् वडा नं. ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत २२ गते सोमवार विद्यालयहरुलाई अर्को निर्णय नभएसम्म कुनै पनि कक्षा, तह र अनलाइन कक्षाका नाममा भर्ना तथा शुल्क नलिन निर्देशन दिएको थियो ।