भारतले लिपुलेकमा सडक बनाएकोमा नेपाल सरकारको आपत्ति

-


     मर्दी न्युज    
     २७ बैशाख २०७७ मा प्रकाशित


काठमाडौं, २७ वैशाख । नेपाल सरकारले भारतले नेपाली भूभाग हुँदै मानसरोबर जाने सडक बनाएकोमा आपत्ति जनाएको छ । परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमिमा गर्दै आइरहेको कुनैपनि गतिविधि रोक्नको लागि आग्रह गरेको छ ।

भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक निर्माण गरी उद्घाटन गरेको थियो । यसको नेपालमा सर्वत्र विरोध भइरहेको छ ।

परराष्ट्र मन्त्रालयले शनिबार जारी विज्ञप्तिमा नेपाल सरकारले सुगौली सन्धी (सन् १८१६) अनुसार आफ्ना गतिविधि गर्दै आएको बताउँदै पूर्वमा काली (महाकाली) नदी यताका सम्पूर्ण भूभागहरु लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको क्षेत्र नेपालका भूभाग भएको उल्लेख गरिएको छ ।

भारतीय कदम सीमा विवाद सम्वादबाट हल गर्ने दुई मुलुकका प्रधानमन्त्रीको सहमतिको विपरित भएको भन्दै परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘नेपाल सरकार ऐतिहासिक सन्धी, दस्तावेजहरु, तथ्यहरु र नक्साहरुलाई राखेर कुटनीतिक माध्यममार्फत सीमानाको समस्यालाई समाधान गर्न चाहान्छ ।’