संसदमा आजबाट प्रिबजेट छलफल सुरु हुने

-


     मर्दी न्युज    
     २८ बैशाख २०७७ मा प्रकाशित


Sabhamukh - Sansad

पोखरा, २८ वैशाख । शुक्रवारदेखि शुरु भएको संघीय संसदको बैठक आज ११ बजे बस्दैछ । संसदमा आजबाट विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सुरु हुने संसद सचिवालयले जनाएको छ ।

आजको संसद बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता पेस गर्नेछन् । सोही सिद्धान्त र प्राथमिकता दिउँसो १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा उनले प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

नीति तथा कार्यक्रमपछि प्रिबजेट छलफल गर्ने परम्परा भए पनि जेठ १५ मा बजेट पेश गर्नैपर्ने चापका कारण वैशाख २८ गतेबाटै प्रिबजेट छलफल गर्न लागिएको हो ।

सरकारको नीति तथा कार्यक्रम जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पेश गर्ने कार्यक्रम छ । त्यसमा छलफल र छलफलमा उठेका जिज्ञासाको जवाफ दिने क्रम सकिएपछि जेठ १३ गते आर्थिक सर्वेक्षण प्रस्तुत हुने छ भने १५ गते आर्थिक वर्ष २०७७÷७८ को बजेट पेश हुने छ ।

कोरोना संक्रमण फैलिन नदिन भौतिक दुरी कायम गर्दै विषेश सावधानीका साथ संसद बैठक शुक्रवारदेखि शुरु गरिएको हो । संसद चल्नुअघि सबै सांसदको स्वाब परीक्षण गरिएको थियो ।