काठमाडौं । सरकारले कोरोना भाइरसका कारण अर्थतन्त्रमा देखापरेको शिथिलता अन्त्य गरी आर्थिक गतिविधि अगाडि बढाउने गरी आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याउने भएको छ।
आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटका सिद्धान्त तथा प्राथमिकता संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त जानकारी गराएका हुन ।
उनका अनुसार जनताको द्रुत विकासको चाहना, राज्यका निर्देशक निर्देशक सिद्धान्त, १५ औं योजना, कोरोनाबाट सिर्जना हुने संकटलगायतलाई ध्यानमा राखेर आगामी आवको बजेट निर्माण हुने भएको छ ।
कोरोनाबाट बढी प्रभावित पर्यटनसहित सेवा क्षेत्रमा पुनरुत्थानको प्याकेजहरु ल्याउने भएको छ । आन्तरिक पर्यटनका गतिविधि निर्माण, हवाई पूर्वाधार निर्माणलाई समेत उत्तिकै प्राथमिकता दिइने अर्थमन्त्री डा. खतिवडाले जानकारी दिए ।
यसैगरी स्वास्थ्य क्षेत्रलाई पनि विशेष प्राथमिकतामा राखिएको उनले बताए। यसैगरी उनले थप विकास सहायता परिचालन गर्ने, मूल्यवृद्धिलाई बाञ्छित सीमाभित्र राख्ने, बैंकिङ प्रणालीलाई उत्पादनमुखी तुल्याउने, कोरोनाका कारण रोजगारी गुमाएकालाई रोजगारी दिने, साना उद्यमलाई प्रवर्द्धन गर्ने, सिपमुलक तालिमहरु सञ्चालन गर्दै सबैलाई उत्पादनसँग जोड्ने सरकारको प्राथमिकतामा परेको बताए ।
वैदेशिक रोजगारीबाट फर्कनेलाई रोजगारी उपलव्ध गराउन र स्वरोजगारी बढाउन कृषि तथा साना घरेलु तथा मझौला उद्योगमा संलग्नता बढाउनेगरी कार्यक्रमहरु तर्जुमा गरिने उनले बताए ।