संक्रमण देखिएपछि जेठ ५ गतेसम्म कपिलवस्तु सिल

-


     मर्दी न्युज    
     २९ बैशाख २०७७ मा प्रकाशित


रुपन्देही, २९ वैशाख । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमित बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ ५ सम्म सिल गर्ने निर्णय भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सोमबार साँझ ५ बजेबाट जिल्लालाई सिल गर्ने निर्णय गरेको हो ।

अति अत्यावश्यक ढुवानी बाहेक पूर्वपश्चिम राजमार्गमा आवतजावत गर्न पाउने छैन । अब पूर्वपश्चिम राजमार्गमा आवतजावत गर्ने अत्यावश्यक खाद्यान्न, तरकारी, फलफूल, दूधका ट्याङ्कर, पेट्रोलियम पदार्थ बोक्ने गाडीहरु, एम्बुलेन्स, औषधी, पानीलगायतका साधनहरु बाहेक अन्यले प्रवेश पाउने छैन ।

जिल्लामा पछिल्ला समय भारतबाट लुकिछपी आउने क्रम बढेको र भारतबाटै आएकाहरुमा कोरोना संक्रमण भेटिएपछि सुरक्षा समितिले जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको हो ।

सोमबार मात्र यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएपछि थप सर्तकता अपनाउँदै सिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिए ।