पोखरा । आज मे १२ तारिख अर्थात विश्व नर्स दिवस । नेपालमा पनि मे १२ तारिखका दिन विभिन्न कार्यक्रम गरी नर्स दिवस मनाउने गरिन्छ । विभिन्न मेडिकल कलेज र अस्पतालहरुमा कार्यरत नर्ससहित अन्य स्वास्थ्यकर्मीहरुको सहभागीतामा अभियानमुलक कार्यक्रमहरु गरी यो दिवस मनाउने गरिएको छ ।
अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन) को आह्वानमा हरेक वर्षको मे १२ तारिखमा विश्वभर नर्स दिवस मनाउने गरिएको छ । आधुनिक नर्सिङ पेशाको शुरुवात गर्ने फ्लोरेन्स नाईटिङ्गेलको जन्मदिनको अवसर पारेर विश्व नर्स दिवस मनाउने गरिन्छ । यस दिनलाई नर्सिङ तथा सुँडेनीहरुको हकहित तथा अधिकार सुनिश्चित गर्दै लग्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम गरी मनाउँदै आइरहेको छ ।
‘फ्लोरेन्स’लाई ए लेडी विथ ए ल्याम्पका नामले पनि चिनिन्छ, अर्थात टुकी या भनौ लालटिन बोकेकी महिला । उतिबेला यूरोपमा क्रिमेन यूद्ध चलिरहँदा घाईते सैनिकहरुको उपचारार्थ अहोरात्र खटिएका सैनिकहरुले उनलाई सम्मानकासाथ लेडी विथ ए ल्याम्प भनेका हुन् ।
रातीको समयमा टुकी वालेर पनि सम्पूर्ण विरामीहरु भएका ठाँउमा पुग्ने यिनी संसारकै पहिलो नर्स फ्लोरेन्स नाईटिङ्गेलले बेलायतको लण्डनस्थित थोमस हस्पिटलमा संसारकै पहिलो निजी नर्सिङ स्कूल स्थापना पनि गरेकी थिइन् जुन गैरनाफामुलक ढंगमा अझैसम्म सञ्चालनमा छ ।
फ्लोरेन्सले अस्पताललाई सफा राख्नमा अनि विरामीको सम्मान र भावनालाई कदर गर्दै एउटा गहिरो सेवाको अवधारणाका रुपमा आधुनिक नर्सिङ पेशालाई ल्याएकी हुन् ।
नेपालको सन्दर्भमा सन् १९४७ मा वीर अस्पतालको स्थापना पछि स्वास्थ्य सहायकका रुपमा केही कम्पाउन्डर र भारतमा तालिम लिएका केही औंलामा गन्नसक्ने व्यक्तिहरु मात्रै थिए । वीर अस्पतालको इतिहास पल्टाउँदा उतिबेला ड्रेसिंग लगायत अन्य उपचारहरु कम्पाउन्डर या डाक्टर स्वयम्ले गर्ने गर्दथे ।
नर्सिङको नेपाली इतिहास वि.सं २०१३ बाट शुरु भएको देखिन्छ । जब केही गृहिणीहरु लगायतका नेपाली चेलीहरुले औपचारिकरूपमा नर्सिङको तालिम लिएका थिए, राणा शासनका क्रममा संभ्रान्त परिवारमा स्वास्थ्य उपचार अनि नर्सिङको महत्व बुझेर नेपालमा नर्सिङको शुरुवात भएको विश्वास गरिन्छ ।
राणाकालको क्रममा चारजना नेपाली चेलीहरु विधावती कंसाकार, राधादेवी मालाकार, धर्मदेवी कंसाकार र विष्णुदेवी राईले भारतको अलाहवादवाट स्वास्थ्य सहायकको तालिम लिएको इतिहास छ । त्यसपछि क्रमशः नेपाली महिलाहरु भारतमा ४ वर्ष ९ महिने लामो नर्सिङ कोर्स गरेर आउने चलन बढेको पाईन्छ ।
आजभोलि शहरमा प्रशस्त नर्सिङ कलेजहरु खुलेका छन । अस्पताल तथा क्लिनिकहरुमा पनि प्रशस्त मात्रमा नर्सहरु देख्न सकिन्छ । अझ नेपालमा विदेश जान सहज हुने भएकाले पनि नर्सिङप्रतिको आकर्षण बढ्दै गईरहेको छ ।
यसवर्ष कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कारण देश लकडाउनको अवस्थामा छ । लकडाउनले गर्दा भेला तथा भीडभाड गर्न बन्देजको अवस्था छ । त्यसैले नर्सिङ दिवसमा विगतका वर्षहरुमा जस्तै भव्य रुपमा कार्यक्रम आयोजना भने गरिएको छैन ।