पोखरा । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २१९ पुगेको छ । बुधबार बाँकेका ३६ वर्षीय र कपिलवस्तुका २२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएसँगै संक्रमितको संख्या २१९ पुगेको छ ।
अहिलेसम्म कर्णाली प्रदेशबाहेक ६ प्रदेशका ३१ जिल्लामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार प्रदेश १ मा संक्रमितको संख्या ३५ छ । प्रदेश १ को झापा, भोजपुर र उदयपुर जिल्लामा संक्रमण देखिएको छ ।
त्यसैगरी प्रदेश २ मा संक्रमितको संख्या सबैभन्दा बढी छ । प्रदेश २ का सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट जिल्लामा गरी ९६ जनामा संक्रमित पुष्टि भएको छ ।
त्यसैगरी बागमती प्रदेशमा १० जनामा कोरोना पुष्टि भएको छ । यसरी पुष्टि हुने काठमाडौं, भक्तपुर, धादिङ र चितवन जिल्लाका छन । त्यस्तै गण्डकी प्रदेशको बागलुङ जिल्लाका २ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै प्रदेश ५ का कपिलवस्तु, रुपन्देही, बाँके र बर्दिया गरेर चार जिल्लाका ७२ व्यक्ति संक्रमित छन । यसैगरी सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर गरेर दुई जिल्लाका संक्रमितको संख्या ५ पुगेको छ ।
बुधबार दुई जना उपचार पनि निको भई डिस्चार्ज भएका छन । योसँगै डिस्चार्ज हुनेको संख्या ३५ पुगेको छ । कोरोना जितेर घर फर्किनेमा बुटवलमा उपचार गराइरहेका २५ वर्षीय पुरुष र चितवनमा उपचार गराइरहेकी ६३ वर्षीया महिला हुन । बुटवलका संक्रमित ११ दिनमा र चितवनमा उपचार गराइरहेकी २६ दिनमा डिस्चार्ज भएकी हुन ।
मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार नेपालमा बुधवारसम्म २१ हजार ३४० जनाको पीसीआर परीक्षण गरिसकेको छ । तीमध्ये २१ हजार १२१ को परीक्षण नेगेटिभ आएको छ । नेपालमा बुधवारसम्म ३५४ जना रेड जोनमा रहेका छन् भने २४५ जनाको आइसोलेसनमा उपचार गराइरहेको छ ।