सिन्धुलीको भिमान बजारका केही घर सिल

-


     मर्दी न्युज    
     ३१ बैशाख २०७७ मा प्रकाशित


दिपेश थापा
सिन्धुली । सिन्धुलीको भिमान बजारका केही घर सिल गरिएको छ । मंगलबार भक्तपुरमा कोरोना संक्रमण भएका एक व्यक्ति सिन्धुलीको भिमानमा आफन्तको घरमा खाना खाएर गएको पुष्टि भएपछि सिल गरिएको सिन्धुली प्रहरीले जनाएको छ ।

सिन्धुली प्रहरी प्रमुख रन्जु सिग्देलले भने, ‘हामीले भिमानका बजार सिल गरेको होइन तर केही घरहरु सिल गरेको हो ।’

सुनसरीको एक कोरोना संक्रमित महिलाले सिन्धुलीको कमलामाई–९ स्थित भिमानमा खाना खाएर काठमाडौं गएको पाइएपछि प्रहरीले उनले खाना खाएको घर र आसपास केही घर सिल गरेको हो ।

सुनसरीका एक महिलाले काठमाडौं जाने क्रममा गएको सोमवार विहान सिन्धुलीको भिमान बजारको एक स्थानीयको घरमा खाना खाएको प्रहरीले बताएको छ ।

काठमाडौंमा पुगेपछि परीक्षण गर्दा ती महिलामा कोरोना भाइरस संक्रमण पुष्टी भएको थियो ।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पान्डेले भने ‘सुनसरीका महिला काठमाडौं जाने क्रममा भिमानमा खाना खाएको र उनी काठमाडौं पुगेर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको हामीलाई जानकारी आएको छ ।’

उनले खाना खाएर गएको घर परिवारका ६ जना र उनीहरुका छिमेकी गरी १९ जनालाई होम क्वारेन्टाइनमा राखिएको सिन्धुली प्रहरीले जनाएको छ ।

खाना खाएर गएको घरको टोललाई अहिले प्रहरीले उच्च निगरानीमा राखेको छ ।