पोखरा, १ जेठ । मन्त्रालयले सबै उमेर समूहका व्यक्तिमा कोरोना संक्रमणको खतरा रहेको भन्दै सचेत रहन आग्रह गरेको छ। नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो आग्रह गरेका हुन्।
‘नेपालमा संक्रमण देखिएका धेरैजसो २० देखि ५० वर्ष उमेर समूहका छन्’, प्रवक्ता देवकोटाले भने, ‘सबै उमेर समूहका व्यक्तिलाई संक्रमण हुनसक्ने हुन्छ। सबैलाई सचेत र सजक रहन आग्रह गर्दछौँ।’
प्रवक्ता देवकोटाले नेपालका २३ जिल्लाका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् ।
प्रवक्ता देवकोटाका अनुसार प्रदेश नं. १ का ३ जिल्ला, प्रदेश नं. २ का ७ जिल्ला, बागमती प्रदेशका ४ जिल्ला, गण्डकी प्रदेशका २ जिल्ला, प्रदेश नं. ५ का ५ जिल्ला र सुदूरपश्चिमका २ जिल्ला गरी २३ जिल्लामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हालसम्म २ सय ४६ जना कोरोना संक्रमण भेटिएको छ ।
मन्त्रालयका अनुसार अलिहेसम्म पीसीआर २२ हजार ६ सय ६४ नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ सय ६३ जनाको नमुना संकलन भएको छ। नेपालमा माघ १४ गतेदेखि पीसीआर परीक्षण सुरु गरिएको देवकोटाले बताए ।
प्रवक्ता देवकोटाका अनुसार आरडीटी विधिबाट अहिलेसम्म ६२ हजार तीन सय २७ नमुना परीक्षण गरिएको छ। आरडीटीको परीक्षण चैत १९ गतेबाट सुरु भएको हो।
अहिलेसम्म क्वारेन्टाइनमा १५ हजार ६ सय छन् भने रेड जोनमा २ सय ५९ जना रहेका छन्। रेड जोनमा रहेकाहरु सम्भावित संक्रमित हुनसक्ने प्रवक्ता देवकोटाले बताए ।