![](https://i0.wp.com/mardinews.com/wp-content/uploads/2020/05/clean-1.jpg?fit=1024%2C768&ssl=1)
पोखरा, जेठ २ गते । पोखरा महानगरपालिका वडा नं. ६ बैदाममा ‘लकडाउन’ सिर्जित विषम परिस्थितिमा पनि निरन्तररूपमा विपन्न, मजदुर तथा दैनिक ज्यालादारीमा निर्भर परिवारहरुलाई खाना खुवाउने कार्य जारी छ ।
बन्दाबन्दीको सुरुवातको बेला त्यस्ता परिवारहरुलाई पोखरा महानगरपालिकाको तर्फबाट प्राप्त राहात खाद्यान्न वडाध्यक्ष र जनप्रतिनिधिहरूको उपस्थितिमा बाँढिए तापनि खाना पकाएर लक्ष्यित परिवारलाई बाँड्नु बढी प्रभावकारि भएको स्थानीय समाजसेवीहरुले बताउनुभयो ।
![](https://i2.wp.com/www.mardinews.com/wp-content/uploads/2020/05/Clean-pokhara-1.jpg?fit=640%2C480&ssl=1)
वैशाख २५ गतेबाट जनप्रतिनिधि, सामाजिक अगुवाहरु, युवाहरु र आमा समुहहरुको सक्रियतामा डिहिकोपाटन, पंधेरानेरको फेवा क्याटरिङ्गको भान्सामा दैनिक २०० देखि २५० जना व्यक्तिहरुको लागि खाना पकाइएको र बाडिएको छ । आर्थिक दुरावस्ताको कारण भोकभोकै पर्न लागेकाहरुले त्यहाँ नाम टिपाउने गर्दछन । आज २५३ जनाले खाना लगेको समाजसेहरुले बताउनु भयो ।
स्थानीय समाजसेवी तथा बैदाम रेडक्रसका सहसचिवसमेत रहेका तुलसी दाहालका अनुसार खानाको लागि नाम टिपाउनेहरुलाई प्रत्येक बिहान १ घण्टा जति जरेवर–हल्लनचोक बिचको डिभाइडरको दुबो गोडमेल, सरसफाइ ,सौन्दर्यिकरण, डिहिकोपाटनको चौर र चौतारी वरिपरि सरसफाइ आदि सानातिना काममा लगाइएको छ । उनीहरुलाई पनि सित्तैमा खाना खाएकोमा आत्मग्लानी अथवा लघुताभास नहोस् भनेर यसो गरिएको उहाँले बताउनुभयो ।
![](https://i2.wp.com/www.mardinews.com/wp-content/uploads/2020/05/clean-pokhara.jpg?fit=640%2C480&ssl=1)
भोलि जेठ ३ गतेको लागि खाना खर्चको व्यवस्था अन्नपूर्ण आमा समुहले गर्नेछ । यो कार्यक्रमलाई जेठ ५ गतेसम्म सुचारु गरिने र त्यसपछि भने सरकारले गरेको लकडाउको आधारमा तथा खाद्यान्न श्रोतको उपलब्धता, दाताहरुको मनस्थिति आदिलाई मध्यनजर गर्दै उचित निर्णय गरिने पर्यटन व्यवसायी तथा समाजसेवी दुर्गा तिमिल्सिनाले बताउनुभयो ।