काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रतिपक्षी दलहरुले सरकारको नीति तथा कार्यक्रमको आलोचना गर्दा यथार्थमा उभिएर छलफल गरी निष्कर्षमा पुग्दा राम्रो हुने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले नीति तथा कार्यक्रम कोरोना केन्द्रित र वर्तमान समस्यालाई सम्बोधन गर्नमा नै केन्द्रित रहेको स्पष्ट परे । वर्तमान संकट सम्बन्धमा नीति निर्माणअघि पनि विभिन्न चरणमा छलफल भएको र सोहीअनुसारै नीति कार्यक्रम आएको उनको भनाइ छ ।
“नीति तथा कार्यक्रमले अहिलेको कोरोना समस्या सम्बोधन गर्ने प्रयत्न गरेको छ । कोरोनाका सङ्क्रमितको अवस्था अहिले सामान्य छ र अझै जटिल बन्न सक्नेतर्फ सरकार सजग छ । कोरोनाको प्रभावमा परेका समुदाय र व्यक्तिलाई राहतको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ,” उनले भने । साथै उपनेता नेम्वाङले नीति तथा कार्यक्रमबारे सदनमा उठेका आवाजलाई पनि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।
कोरोनाको प्रभावलाई सम्बोधन गर्ने गरी सरकारले काम गरिरहेको बताउँदै उनले विगतका सन्दर्भलाई पनि समेटेर कतिपय कुरा नीतिमा समेटिएका कारण विस्तृत देखिएको हुनसक्ने जानकारी दिए । यही सदनमा भएका दलहरु एकताबद्ध भएर विगतमा संविधान जारी गरी आजको अवस्थासम्म आइपुगेको प्रसंग उल्लेख गर्दै उपनेता नेम्वाङले त्यसयता उठेका केही माग र आवाजलाई पनि छलफल गर्दै निष्कर्षमा पुग्न सकिने धारणा व्यक्त गरे ।
अब शान्ति र प्रजातन्त्रका लागि आन्दोलन गर्नुपर्ने भएको बताउँदै उनले नीति तथा कार्यक्रममा शान्तिप्रक्रिया पनि चाँडै टुङ्गोमा पुर्याउने उल्लेख गरेको अवगत गराए । शान्तिप्रक्रियाका बाँकी काम आवश्यक कानुन बनाई दुई वर्षमा टुंगिने र त्यो विषय नीति तथा कार्यक्रममा पनि रहेको उनको भनाइ थियो ।
“कोरोनाविरुद्धको लडाइँमा हामी सबै एक छौँ र यसलाई निरन्तता दिएर मात्र यसविरुद्धको लडाइँ जित्न सकिन्छ । नीति कार्यक्रमले लोकतन्त्रका सम्बन्धमा संविधान भएका आधारभूत विशेषतालाई समेत उल्लेख गरेको छ,” उनले भने । उनले भूकम्पले मुलुक क्षतविक्षत भएको बेला छिमेकीले नाकाबन्दी लगाएको, दुई छिमेकीले नेपाललाई नसोधी नेपालको भूमि अतिक्रमण भएको स्थानबारेमा गरेको सम्झौताविरुद्ध अघि बढ्ने दृढता व्यक्त गरे । यही सरकारले भूपरिवेष्टित मुलुकका रुपमा रहेको नेपाललाई भूजडित बनाएको बारेमा समेत जानकारी गराए । साथै अब नेपालमा नाकाबन्दी नहुनेसमेत स्पष्ट पारे ।
उपनेता नेम्वाङले प्रसारण लाइन निर्माण गरी भारत र बंगलादेशसम्म जलविद्युत् निर्यात गर्नेबारे समेत नीति तथा कार्यक्रममा उल्लेख रहेको बताए । नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार नेपालका अतिक्रमित भूमि समेटिएर नेपालको नक्सा जारी हुने बताउँदै उनले सबै एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।