पोखरा । गण्डकी प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सुरु हुने भएको छ । आइतबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा सभागृहमा अधिवेशन गरिने फेसबुक लाइभमार्फत जानकारी दिए । आइतबार साँझ फेसबुक लाइभमा अहिलेको भवनमा सामाजिक दुरी कायम गर्न सम्भव नभएकाले पोखरा सभागृहमा सञ्चालन गर्ने गरी त्यहाँको वस्तुगत अवस्थिति अवलोकन गरेको उनले जानकारी गराए ।
अधिवेशनमा प्रदेश सरकारले आगामी वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नेछ । कोरोनाका कारण प्रदेश सभाको विधेयक अधिवेशन सूचना प्रकाशित गरी वैशाख २३ गते अन्त्य गरेको थियो ।