कोरोना कहरः विश्वभर ३ लाख १६ हजारबढीको मृत्यु, संक्रमित संख्या ४८ लाख

-


     मर्दी न्युज    
     ५ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा, ५ जेठ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ३ लाख १६ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । सोमवार बिहानसम्म विश्वभर गरी कोरोनाका कारण ३ लाख १६ हजार ६ सय ५२ जनाले ज्यान गुमाएको वल्र्डोमिटरको तथ्यांक छ ।

कोरोना भाइरसबाट विश्वभर गरी हालसम्म ४८ लाख १ हजार ३५० जनामा संक्रमित भइसकेको तथ्यांकले देखाएको छ । संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा छन् । अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या १५ लाख २७ हजार ६६४ जनामा पुष्टि भैसकेको छ ।

यसैगरी अमेरिकापछि सबैभन्दा धेरै संक्रमित हुने राष्ट्रमा रसिया पुगेको छ । रसियामा २ लाख ८१ हजार ७५२ जना कोरोना संक्रमित छन् ।

यसैगरी वल्र्डमिटरका अनुसार स्पेनमा २ लाख ७७ हजार ७१९, बेलायतमा २ लाख ४३ हजार ६९५, ब्राजिलमा २ लाख ४१ हजार ८० तथा इटलीमा २ लाख २५ हजार ४३५ जनामा संक्रमणको पुष्टि भइसकेको छ ।

कोरोनाका कारण ज्यान गुमाउनेमा पनि सबैभन्दा धेरै अमेरिका छ । अमेरिकामा ९० हजार ९७८ जना कोरोना संक्रमणबाट ज्यान गएको छ । यसैगरी बेलायतमा ३४ हजार ६३६, इटलीमा ३१ हजार ९०८, फ्रान्समा २८ हजार १०८ तथा स्पेनमा २७ हजार ६५० जना कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमणबाट २ जनाको ज्यान गएको छ भने योसहित संक्रमितको संख्या २९५ पुगेको छ । ३६ जना उपचारपछि निको भएर घरफर्किसकेका छन् भने उपचाररत बाँकीको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



Tags: