पोखरा । नेपालमा सोमबार एकै दिन ८० जना कोरोना संक्रमित थपिएका छन् । सोमबारै पहिलो पटक कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको छ ।
दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो । नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा दैलेखको आठविसकोट नगरपालिका–१ का १ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । यससँगै नेपालका सातै प्रदेशमा कोरोना संक्रमण देखिएको छ ।
अहिलेसम्म प्रदेश नं. ५ मा सबैभन्दा बढी संक्रमण देखिएको छ । प्रदेश ५ मा एक सय ७१ जना संक्रमित छन् । त्यस्तै प्रदेश ५ पछि बढी संक्रमितको संख्या प्रदेश २ मा रहेको छ । प्रदेश २ मा एक सय ३२ जना संक्रमित छन् ।
यसैगरी प्रदेश १ तेस्रो स्थानमा रहेको छ । प्रदेश १ मा ४५ जना संक्रमित छन् । यसैगरी बागमती प्रदेशमा १८ जना, सूदुरपश्चिम प्रदेशमा ५ जना, गण्डकी प्रदेशमा ३ जना र कर्णाली प्रदेशमा एक जना संक्रमित छन् ।
संक्रमितमध्ये ३६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने कोरोनाका कारण २ जनाको ज्यान गएको छ ।