तस्विरहरुः गंगा घले
पोखरा, ६ जेठ । पोखरा महानगरपालिका वडा नं. ६ मा अवस्थित कास्की जिल्ला अदालतको पूर्वी–उत्तरतर्फको डिल भत्किएर फिर्केखोला थुनिएको छ । सोमवार साँझ परेको पानीले जिल्ला अदालतको उत्तरपूर्वी भागमा लगाएको पर्खाको आधा भागसहित ६० मिटरजति पहिरो गएको हाम्रो सम्वाददाताले जनाएको छ ।
बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अम्पुन’को केही प्रभावको असरले पोखरा तथा आसपासका क्षेत्रमा हिजो अपरान्ह ठूलो पानी परेको थियो । विगत वर्षमा भन्दा यसवर्षको प्रि–मनसुनमा अत्याधिक वर्षाका साथै अघिल्ला वर्षहरुमा भएका वर्षातको भेलले खोतलेर बनाएको भ्वाङहरुको माथिलो डिल भत्किएकोले गर्दा अहिले स्थानीयहरु त्रसित छन् ।
जिल्ला अदालतदेखि ४०० मिटर उत्तरतर्फका ७० प्रतिशत डिलहरु उच्च जोखिममा छन् भने फिर्के खोलाको पश्चितर्फको भागमा स्थानीयका घरहरु छन् । केही स्थानीयले आफ्नै खर्चमा आफ्नो घर अगाडि पर्खाल लगाएका छन् भने कतिपय पर्खाल विगतका वर्षमा आएको भेलले भत्काएको हो ।
खोला आसपासका बासिन्दाहरुले सम्बन्धित निकायलाई तारजाली लगाउन बेलैमा जानकारी गराएपछि कुनै पहल नभएको गुनासो गरेका छन् । स्मरणीय छ, फिर्के खोलामा बुलौदी खोला पनि मिश्रित भई पोखरा महानरगालिकाको वडा नं. २, ४, ५, ६, ७ र ८ बाट फोहोर पानी, ढलहरु यसै खोलाबाट आई फेवातालमा मिसिन्छ ।