कोरोनाबाट कसैको ज्यान गुमाउनु नपरोस् भन्ने प्रयास असफल भयो: प्रधानमन्त्री

-


     मर्दी न्युज    
     ६ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९)बाट कसैको पनि मृत्यु हुन नदिने सरकारको प्रयास असफल भएको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलवारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतबाट आएकाहरुका कडा खालको भाइरस संक्रमण देखिएको बताउँदै सरकारको प्रयास विभिन्न कारणहरुले असफल भएको बताएको हो ।

प्रधानमन्त्रीले भने, ‘हाम्रो प्रयास कोही पनि नेपालमा कोरोनाको कारणले वा कोरोना संक्रमित भएको अवस्थामा कसैले पनि ज्यान गुमाउनु नपरोस् थियो । विभिन्न कारणहरूले हाम्रो प्रयास असफल भएको छ र २ जनाको निधन भएको छ ।’

उनले वुहान, इटली, दुवईबाट आएको भाइरस कडा खालको नभएको बताउँद पछिल्लो समय भारतबाट आएका धेरैमा संक्रमण देखिएको बताए ।

यसैगरी मुलुकमा कोरोनाबाट ज्यान गुमाउन नपरोस् र अरुमा संक्रमण हुन नपाओस् भनेर सरकारले उच्च सतर्कता अपनाइरहेको प्रधानमन्त्री ओलीले बताए ।