नेपालमा थप २७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ सय २ पुग्यो

-


     मर्दी न्युज    
     ६ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ४ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

प्रवक्ता डा. देवकोटाका अनुसार झापामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी संक्रमित पुष्टि भएका जिल्लाहरुमा कपिलवस्तु ४, काठमाडौं ३, सर्लाहीमा २, र मोरङ, सुनसरी, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप, लमजुङ र नवलपरासीका एक÷एक जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । संक्रमितहरु १७ देखि ४२ वर्षको रहेको प्रवक्ता देवकोटाले जानकारी दिए । २७ जना संक्रमितहरुमध्ये २४ जना पुरुष ३ जना महिला रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज गण्डकी प्रदेशका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

लमजुङ जिल्लाका संक्रमित भने गण्डकी प्रदेशमा नरहेको र उनी रहेको स्थानको बारेमा बुझ्न लागेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले बताए । निर्देशक शर्माले मर्दीन्यूजसँग भने – “उहाँको नमूना संकलन तथा परीक्षण गण्डकी प्रदेशमा भएको हैन, लमजुङ स्थायी घर भएको तर उहाँ नेपालको अन्य क्षेत्रमा रहेकाले सोही ठाउँबारेमा हामी बुझ्दैछौ ।”