गण्डकी प्रदेश सभा बैठकका लागि पोखरा सभागृहमा रङरोगन कार्य जारी (फोटो फिचर)

-


     मर्दी न्युज    
     ७ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा, ७ जेठ । गण्डकी प्रदेश सभाको भवन साँघुरो भएकाले जेठ ११ गतेबाट सुरु हुने बजेट अधिवेशन पोखरा सभागृहमा हुने भएको छ । पोखरा सभागृहमा प्रदेश सभा बैठक बस्ने निर्णय भएकाले अहिले यस सभागृहलाई रङरोगन र कुर्चीहरु मिलाउने काम भइरहेको छ ।

प्रदेश सरकारको गत आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ ११ गते दिउँसो १ बजेका लागि प्रदेश सभाको बजेट अधिवेशन बोलाउने निर्णय गरेको थियो ।

गण्डकी प्रदेश सभामा ६० सदस्य छन । पोखरा महानगरका अनुसार सभागृहमा १ हजार ३ सय जना अटाउन सक्ने सिट क्षमता छ ।

कोरोना भाइरस (कोभिड–१९) रोकथाम सम्बन्धी प्रोटोकल अनुसार बैठकमा सांसदहरु डेढ मिटर दुरीमा बस्ने गरी व्यवस्था मिलाउन लागेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सभागृहमै प्रदेश सभा बैठक बस्न मिल्ने गरी व्यवस्था मिलाउन निर्देशन दिएसँगै सांसदहरुबीच डेढ मिटरको दुरी रहने गरी कुर्ची र माइकको व्यवस्था मिलाउने, पर्यवेक्षक र पत्रकार बस्नका लागि छुट्टै स्थान बनाउने गरी तयारी थालिएको छ ।

पोखरा महानगरको स्वामित्वमा रहेको सभागृहमा प्रदेश सभा बैठक चलाउन न्युनतम पूर्वाधार मात्र बनाउने प्रदेश सभा सचिवालयका निमित्त सचिव राजेन्द्र न्यौपानेले बताए ।

बजेट अधिवेशनमा प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेटका सिद्धान्त एवं प्राथमिकता, नीति तथा कार्यक्रम र बजेट पेश गर्नेछ । यसका अलवा यही बजेट अधिवेशनबाट विभिन्न ४ वटा विधेयक समेत पारित गर्ने प्रदेश सरकारको योजना छ ।

गण्डकी प्रदेश सभाको विधेयक अधिवेशन चैत ६ गते स्थगित भएको थियो । कोरोना भाइरस रोकथामका लागि चैत ११ गतेदेखि लकडाउन भएपछि वैशाख २३ गते सूचना टाँसेर अधिवेशन अन्त्य भएको थियो । तस्विरहरुः खेम गुरुङ