एजेन्सी । कोरोनाभाइरसका (कोभिड–१९) संक्रमितको संख्या ५० लाख नाघेको छ । वल्डोमिटर्सको बिहीबार बिहानसम्मको तथ्याङ्कअनुसार विश्वभर संक्रमितको संख्या ५० लाख ८२ हजार ६ सय ४९ पुगेको छ ।
वल्डोमिटर्सका अनुसार संक्रमणका कारण विश्वभर ३ लाख २९ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । तथ्यांक अनुसार मृत्यु हुनेको संख्या ३ लाख २९ हजार २ सय ९३ पुगेको छ । पछिल्लो २४ घन्टामा विश्वभर ४ हजार ७ सय ३९ भन्दा बढीको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।
त्यस्तै विश्वभर २४ घण्टाको अवधिमा ९९ हजार ७ सय १२ जना नयाँ संक्रमित भेटिएका छन् । प्राप्त समाचार अनुसार विश्वभर करिब ४५ हजार ८ सय ३ जनाको स्वास्थ्य अवस्था अत्यन्त जटिल रहेको छ भने २७ लाखको स्वास्थ्य अवस्था सामान्य छ ।
कोरोनाबाट सबैभन्दा प्रभावित अमेरिकामा पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार ४ सय ६१ जनाको मृत्यु भएको छ भने देशभर ९४ हजार ९ सय ९४ जनाको कोरोनाकै कारण ज्यान गएको छ । त्यस्तै अमेरिकामा १५ लाख ९१ हजार भन्दा धेरै कोरोना संक्रमित भएका छन् ।
त्यस्तै अमेरिका पछि सबैभन्दा प्रभावितको सूचिमा रसिया छन् । रसियामा ३ लाख ८ हजार ७ सय ५ जना संक्रमित पुष्टि भएका छन् । त्यस्तै ब्राजिल सबैभन्दा संक्रमित राष्ट्रहरुको सूचिमा तेस्रो नम्बरमा छ । ब्राजिलमा २ लाख ९३ हजारभन्दा धेरै कोरोना संक्रमित भएका छन् ।
नेपालमा बुधवार थप २५ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय २७ पुगेको छ । नेपालका ३६ जिल्लामा कोरोना संक्रमण देखिएको छ भने संक्रमण पुष्टि भएकामध्ये हालसम्म ४५ जना निको भएका छन् । संक्रमितमध्ये सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ ।