बुटवल । कोरोना भाइरस संक्रमित गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षीय पुरुषको मृत्यु भएको छ। रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत उनको बिहीबार विहान ८ बजेर १० मिनेटमा मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले जानकारी दिए।
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले एक विज्ञप्ति जारी गरी उनको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् । ‘क्रिमसन अस्पतालमा उपचाररत शिक्षकको बिहीबार बिहान दुखद् निधन भएको छ । उहाँलाई बचाउन अनेकौं प्रयास गर्दा पनि बचाउन नसकेकोमा निकै दुःखी छौं,’ मन्त्री बरालको विज्ञप्तिमा भनिएको छ ।
जेठ १ गते उपचारका लागि क्रिमसन अस्पतालमा आएका उनको दुई गते स्वाब संकलन गरिएको थियो। जेठ ५ गतेमात्रै उनका कोरोना पोजेटिभ देखिएको हो।
उनको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ।