पोखरा । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभरमा ज्यान गुमाउने संख्या ३ लाख ३४ हजार नाघेको छ । वल्डोमिटर्सको शुक्रबार बिहानसम्मको तथ्याङ्कअनुसार कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ लाख ३४ हजार ७२ पुगेको छ ।
कोरोनाको सबैभन्दा धेरै प्रभाव विकसित देशहरु अमेरिका, बेलायत, इटली, स्पेन, फ्रान्स, जर्मनी, रुस, ब्राजिल लगायत देशमा परेको छ । विकसित देशको तुनात्मक रुपमा कम विकसित देशमा कोरोना संक्रमण कम देखिएको छ ।
अमेरिकामा हालसम्म ९६ हजार २ सय ९५ जना कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । बेलायतमा ३६ हजार ४२, इटलीमा ३२ हजार ४ सय ८६, फ्रान्समा २८ हजार २ सय १५, स्पेनमा २७ हजार ९ सय ४०, ब्राजिलमा २० हजार ४७ जना संक्रमितको ज्यान गइसकेको छ ।
कोरोना संक्रमितको संख्या विश्वभर गरी ५१ लाख ८९ हजार १ सय ७७ पुगेको छ । अमेरिकामा मात्रै १६ लाख २० हजार ४ सय ५७ को पुष्टि भएको छ । त्यस्तै अमेरिका पछि रसिया बढी संक्रमित सूचिमा छन् । रसियामा हालसम्म ३ लाख १७ हजार ५ सय ५४ संक्रमित भएका छन् । यसैगरी ब्राजिलमा ३ लाख १० हजार ८७ जना संक्रमित छन् ।
विश्वभर २७ लाख ७६ हजार ५ सय ६९ जनाको उपचार भइरहँदा ४५ हजार ६ सय ३५ संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । हालसम्म २० लाख ७८ हजार ५ सय ३६ संक्रमितको उपचार पछि निको भइ घर फर्किसकेका छन् ।